ढल्याे कुकुरको सत्ता

  • २७ आश्विन २०७७, मंगलवार १५:३१

हिजो
खुला आकास मुनी
धुलाम्मे सडक पेटीमा
सहारा बिहिन लालाबाला जम्मा गरी
एक गल्लीदेखी, अर्को गल्लीको सिमानामा
अरुकै निम्ती रात भरि जाग्रम बस्नु
मानौ उसको दैनिक कार्यतालिका थियो ।

छाक टार्ने चटारोमा
पुच्छर हल्लाउदै, मालिकको खुट्टा सुग्दै
जुठो पुरोमा दिन बिताउनु,
फगत अरुकै निम्ती निरन्तर
एक्लो दौड काशीको यात्रामा
प्रत्येक ढिस्कामा, तुर्काउदै दौडिरहनु
मानौ उसको स्वाभिमान थियो ।

समय फेरियो,
कुकुरहरुको सोचाइमा परिवर्तन आयो
जुठो पुरोमा होइन,पेटभरी खाने योजनामा
आफ्नो काम आफै गर्न
कुकुरहरु संगठित हुन थाले

बलियो एकता काएम गरौं
संसारका कुकुर एक हौं
हुने खानेको नभै हुँदा खानेको लागि केहि गरौं
जुठोपुरो होइन
आफ्नै पौरखमा बाँच्ने आँट गरौं

काला, खैरा, सेता
कुनै विभेद छैन
मालिकले पालेकाहरु पनि
मालिकको स्तर अनुसार फरक छन
तर हामी एक छौ
कुनै वर्ग छैन
एउटै जात,संसारका कुकुरहरु एक हौं

हिजोको, बलियो एकता
गल्ली गल्लीमा संगठन
टोल टोलमा टाउके
सबैको मेहनत ,आफ्नै जातिय राज्य
हाम्रो काले हाम्रो देश, प्राण भन्दा प्यारो छ
संसारका कुकुर एक हौ
कुकुर एकता जिन्दावाद ।

आज
आज, दिन फेरिएको छ ।
बिलासी गिलासी जीवनशैली
माथि देखि तल सम्म
काम गर्ने भन्दा, आदेश दिने बढि
टाउके टाउकेमा निर्लज्ज दाउपेच
खूल्लम खुल्लाअसहयोग, षडयन्त्र र धाेका
एकले अर्कोलाई सिध्याउन, खुट्टा तानातान
सिनाेकाो लडाई, झगडा र कोलाहल
हाम्रो टाउके मुर्दावाद ।

बिचरा इमान्दार कुकुरहरुको
त्याग, तपश्या र बलिदानबाट प्राप्त राज्यसत्ता
टाउकेहरुको हड्डी मोहका कारण
क्षणभरमा ढलेको छ
शिशाको घर जस्तै गल्र्याम गुर्लुम्म
जगैदेखि , ढलेको छ ।
फेरी उठनै नसक्ने गरी,ढलेको छ ।

सपनाका त्यान्द्रा,रेसारेसामा ,टुटेका छन
आकास खसे जस्तै
जीवनका सबै मार्ग टुटेका कुकुरहरु
फेरी खुला आकास मुनी
धुलाम्मे सडक पेटीमा
सहारा बिहिन लालाबाला जम्मा गरी
एक गल्लीदेखी, अर्को गल्लीको सिमानामा
जुठोपुरोको खोजीमा
आज फेरी रात भरि जाग्रम बसेका छन
भोलि पनि रात भरि जाग्रम बसी रहने छन ।
धन्यवाद
२०७७।०३।०५
मित्र राजकुमार सापकोटाको परिकल्पनामा आधारित श्रृजना