नेकपा एमालेको विवाद र माधब नेपालको बहिर्गमन

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:५८

समसामयिक लेख।
लामो समयको विवाद पछि नेकपा एमाले विभाजनको मुखमा पुगेको छ ।शिद्दान्त विहिन सत्ता स्वार्थको पटाक्षप भएको छ ।यो विभाजनले मुलुकाको कम्युनिष्ट एकताभित्र आफ्नो भविष्य देख्ने लाखौ कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु चिन्तित भएका छन भने गुटफुटमा रमाउने स्वार्थी तथा अवसरवादीहरु हर्षविभोर भएका छन ।गुटफुट र विभाजनबाट अाक्रन्त नेपालको कम्युनिष्ट आन्दोलनलाई नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले संगठित तथा पुर्नजाग्रित गरेका थिए ।मदनभण्डारीको नविन विचार र सशक्त नेतृत्वबाट अघि बढेको नेकपा एमालेको नेतृत्व मदनभण्डारीको स्वर्गारोहणपछि माधव नेपालको काधमा आयो ।
मदनभण्डारीको स्वर्गारोहणपछि माधव नेपालले निरन्तर १५ वर्ष सम्म पार्टी महासचिवको जिम्वेवारी सम्हालेका थिए ।२०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा माधव नेपाल दुबै स्थानबाट पराजित भए । उक्त निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा पुगेको थियो ।निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयको मुल्याङकन समेत नगरी आफ्नै पार्टीका संविधान सभाका सदश्यलाई राजिनामा गराई माधव नेपाल संविधानसभा सदश्यमा मनोनित भए र संवैधानिक समितिका अध्यक्ष देखि प्रधानमन्त्री समेत बनेका थिए ।
विगतदेखि नै सत्ता र शक्तिको निम्ती माधव नेपाल जे पनि गर्छन भन्ने ईतिहास प्रमाणित भई सकेको छ ।विगतमा शाहि कदमका बिरुद्ध पार्टी तथा देशले आन्दोलन गरीरहेका बेलामा प्रतिगमन सच्चिएको भनि प्रधानमन्त्रीका लागि राजा समक्ष विन्तिपत्र नै चढाएका थिए ।सत्ता विना एक मिनेट पनि बाँच्नै नसक्ने प्रबृतिका माधव नेपाल नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेर पराजित भए ।त्यसयता उनी पार्टीको वरिष्ठ नेताको रुपमा हिजो सम्म रहेका थिए ।पार्टीको नवौं अधिवेशनबाट पराजित भएका माधव नेपाल नै पार्टी विभाजनका कारक तत्व बन्न पुगेका छन् ।
नेकपा एमालेको विभाजनमा वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद आलिको पनि महत्वपूर्ण भुमिका छ भन्नेहरु पनि छन ।एक हातले ताली बज्दैन, एकोहोरो रोटी पाक्दैन यो नेपाली उखान मात्र होइन यसले मिलेर काम गर्नु पर्छ भन्ने मान्यता राखेको पाईन्छ ।माधव नेपालको १५ वर्षे शासनकालमा वर्तमान अध्यक्षले कहि कतै असहयोग गरेको कुरा सुनिएन ।माधव नेपाल पार्टी प्रमुख तथा सरकार प्रमुख भएको बेलामा समेत केपि आलिको भुमिका सकारात्मक नै थियो ।वर्तमान पार्टी अध्यक्षले देशमा अस्थिरता र अराजकताको अन्त्य गर्न खोज्नु भयो भने सम्बृद्धिलाई रोज्नु भयो ।कुनै पनि ब्यक्तिलाई काम गर्ने अवसर दिनु पर्छ ।काम गर्ने अवसर नदिने र दिए असहयोग गर्ने काम राजनितीक संस्कार भित्र पर्दैन ।दिदा नखाने र राती उठेर कोल चाटने संस्कारको अन्त्य हुनु पर्छ ।अरुलाई दोष दिएर उम्कन पाईदैन ।को कति पानि मथि छ समयमा मुल्याङकन हाेला नै ।
माधव नेपालले नेकपा एमालेको नवौं महाधिवेशमा भएको आफ्नो हारलाई स्वीकार गर्न सकेको देखिदैन ।सधै बिधि, बिधान र पद्धतिको कुरा गरेर नथाक्ने माधव नेपालले पार्टीको महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई स्वीकार गरेको देखिदैन ।कुनै पनि दिन माधव नेपालले पार्टी अध्यक्ष तथा सरकारको बचाउ गरेका छैनन ।बरु निर्वाचित पार्टी अध्यक्षका बिरुद्ध सार्वजनिक स्थानमा नै हुर्मत लिने काम गरेका छन ।आफ्नै पार्टीको सरकारका बिरुद्ध संसदमा उत्तेजक भाषण गर्ने, आफ्नै पार्टीका प्रधान मन्त्रीका बिरुद्ध विपक्षी गठबन्धनसंग मिलिमतो गर्ने, बिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने, राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी उमेदवारलाई सहयोग गर्ने तथा प्रदेश सरकारका बिरुद्ध लाग्न आफ्नै पार्टीका प्रदेश सभासदलाई फ्लोरक्रस गर्न प्रेरित गर्ने तथा पार्टीको बिधान विपरित समानन्तर गतिविधिनै चलाएका थिए ।
एउटै शिद्दान्त र विचारबाट निर्देशित, साझा कार्यक्रम, निश्चित उद्देष्य बोकेका मानिसहरुको समुहलाई राजनितिक दल भनिन्छ ।कुनै पनि राजनितिक दलको भविष्य त्यस दलले स्वीकार गरेको विचार वा शिद्दान्त, उद्देष्य तथा कार्यक्रम सहित त्यस दलमा संलग्न नेता तथा कार्यकर्ताको व्यबहार र सदविवेकमा अडेको हुन्छ ।देश र जनताप्रति भन्दा पनि आफ्नो सत्ता स्वार्थमा निर्लिप्त नेतृत्वबाट कुनै लक्ष्य हासिल हुन सक्दैन ।अनुशासनहिन, भ्रष्ट तथा स्वार्थी नेताहरुले पार्टीलाई मात्र होइन सिङ्गो मुलुकको भविष्यलाई समेत अप्ठेरोमा पार्न सक्छन त्यसकारण समयमा नै सचेत बनौ ।सबै खालको अतिबादबाट पार्टीलाई जोगाऔं । मर्यादित राजनिति गरौं ।पार्टी एउटा आस्थाको साझा घर हो । सबैको भावनाको कदर गरौं । सबैलाई समान सहभागिताको अवसर प्रदान गरौं ।योग्यता र क्षमताको आधारमा जिम्वेदारी प्रदान गरौं ।पालो सबैको आउछ मिलेर काम गरौं भन्ने भावनाको विकास गरौ ।यो आजको आवश्यककता र भविष्यको पुर्वाधार हो ।
धन्यबाद
२०७८/०२/११