नेकपा काभ्रेको गतिरोध र सरोकारवालाको दायित्व

  • २७ आश्विन २०७७, मंगलवार ०३:०६

समसामयिक लेख

काभ्रे जिल्ला राजनैतिक रुपमा कम्युनिष्टहरुको वाहुल्यता रहेको जिल्ला हो । जिल्लाका दुई संघिय, चारवटा प्रदेश सभा, र १३ वटा स्थानिय तह मध्ये २ वटै संघिय निर्वाचन क्षेत्र ४ वटै प्रदेश सभा, र ९ वटा स्थानिय तहमा नेकपाले सानदार जित हासिल गरेको छ । सबैखाले असमानताको अन्त्यका लागी संर्घषशिल कार्यकर्ताको बलमा उल्लेख्य उपलब्धी हासिल भएको र प्राप्त उपलब्धीको रक्षा गर्दै अघि बढनु आजको सर्वोपरि आवश्यकता बनेको छ ।

लामो समयको प्रतिक्षा पछि नेकपा काभ्रेको जिल्ला कमिटी गठन भएको थियो ।तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका मौजुदा जिल्ला कमिटिका सदश्यहरुबाट नै नेकपाको जिल्ला कमिटि गठन हुने बिधि अनुसारै क. रुकु चौलागाइ अध्यक्ष र क. टोक बहादुर वाइबा सचिव रहने गरी जिल्ला कमिटि गठन भयो ।जिल्ला कमिटिमा तत्कालिन माओबादीको तर्फबाट मनोनित भएता पनि एमालेको तर्फबाट अझैं हुन सकेको छैन ।नव गठीत कमिटिको सपथग्रहण सम्पन्न भएको पनि झण्डै एक वर्ष वितेको छ ।लामो समय बिति सक्दा पनि पार्टीको पुर्णता र नियमित बैठक हुन सकेको छैन ।एक वर्षमा एक दुइ थान बिग्यप्ती फेसबुकमा निकाल्नुको अतिरिक्त खास कुनै पार्टी काम हुन सकेको देखिदैन ।पार्टी बिधि र पद्वतिमा चल्नु पर्छ भनेर नथाक्ने नेताहरु एक अर्कोलाई दोष लगाएर उम्कने प्रपञ्चमा रहेका छन ।नेकपा काभ्रेको वर्तमान गतिरोधको अन्त्य र नियमितताको सन्दर्भमा यो लेख तयार गरेको छु ।

हामीलाई थाहा छ, एकता प्रक्रियामा दुई परिवार एउटै घरमा एउटै छानामुनी बसेर एउटै भान्सामा खाना खान हामी सबै तयार भएकै हौं । एकै घरमा बस्दा ठुलो परिवार हुँदा कहिले कहि अप्ठेरो पर्छ । साधन स्रोतको कमी हुन्छ । खाटमा ठाउँ नपुगेर भुइमा सुत्न तयार हुनु पर्छ । गास कटाएर बराबरी वाडीचुडी खाएर आफ्नो उद्देष्यमा अघि बढनु पर्छ यो हाम्रो तत्कालिन आबश्यकता हो ।
तर आज हाम्रा मानकहरु फेरिएका छन ।हामीलाई तत्काल चाहिएको छ भोलि सम्म कुर्ने कुनै धर्यता छैन ।दिने र लिनेमा बाडिएका छौं ।यो वा त्यो समुह बनाउन उध्त छौ ।आफुले पाए सबै ठिक र नपाए सबै बेठिक देख्ने नबिन बिचारको शुत्रपात भएको छ । म हुँदा आकास थेगिने र नहुदा खस्ने मनोगत दृष्टिकोण वनाई हुटिट्याउले आकाश थेगेको जस्तो सबै काम म बाट मात्र संमव हुने अन्यथा खतम भएको देख्ने अतिवादी सोचको निर्माण र बिकास भएको छ ।

कार्यर्कता पार्टिका औजार हुन, इतिहासका निर्माता हुन । मैले पार्टिबाट के पाए भन्दा पनि मैले पार्टिलाई के दिए भनेर सोच्न जरुरी हुन्छ । पालो सबैको आउछ । आफ्नो पालोमा नेतृत्व गर्ने र अर्काको पालोमा सघाउने बानी बसाल्यौं भने मात्र पार्टी बलियो हुन्छ र बलियो पार्टीको जगमा मात्र सम्वृद्घि प्राप्त हुन्छ । त्यसैले असल कार्यकर्ताले समय सापेक्ष, आवश्यकता अनुसार जिम्वेवारी दिन, लिन तयार रहनु पर्छ । बिकल्प सहितको वातावरण बनाउनु प्रत्येक कार्यकर्ताको दायित्व रहेको हुन्छ ।

साझा राजनैतिक विचार शिद्दान्त बोकेका, एउटै उद्देश्य र कार्यक्रम र झण्डामुनी संगठित मानिसहरुको समुह नै राजनैतिक दल हो । यो कुरा नेतृत्वले बुझन जरुरी हुन्छ । पार्टी कार्यकर्ताको साझा घर हो । यस घरमा भिन्न क्षमता भएका सदस्यहरु एक आपसमा भावनात्मक एकतामा बाधिएका हुन्छन । भिन्न क्षमताको आधारमा फरक फरक जिम्वेवारीमा रहेका हुन्छन । नेतृत्वले भिन्न क्षमता भएका विभिन्न कार्यकर्तालाई एकै शुत्रमा बाधेर नेतृत्व गर्न सक्नु पर्छ । प्रत्येक सदस्यलाई उसको योग्यता , क्षमता र कार्यकौसलताको आधारमा जिम्वेवारी दिनु पर्छ । यदि यसो गरिएन भने नेतृत्वप्रति विश्वास र आस्था घटन थाल्दछ “नेतृत्व त्यो हो जसले देखेको छ , पुगेको छ र सबैलाई एकैसाथ लान सक्छ ” यो कुरा नेतृत्वले बुझन जरुरी हुन्छ आफ्नै कार्यकर्तालाइ असमान र विभेदपुर्ण व्यबहार गर्ने, अनादार गर्ने हेलाँहोचो गर्ने व्यक्ति किमार्थ नेता हुन सक्दैन । कार्यकर्ताको रगत र पसिनाको आहालमा डुवुल्की मारेर आफ्नो स्वार्थमा रमाउने र आफ्नो अभिष्ट पुरा गर्न कार्यकर्ताको प्रयोग गर्ने नेताको राज अतिछोटो र तिक्तता पुर्ण हुन्छ । आज होला भोली रहन्न । यो कुरा सुन्दा तितो तर सत्य हो ।

अब नेकपा काभ्रेको गठन र सृजीत विवादको कुरा गरौ । मैले माथी नै भनी सके दुई घरका परीवार एक भएका छौ, सबैले खोजेकै कुरा नपाउन सकिन्छ । चित्त बुझाउने मनासीब कारण दिनु पर्छ । दुई चार जना व्यक्ति दुई समुहमा बसेर एउटै बस्तुलार्ई दुबैतिर तानिन्छ भने बस्तु जहाको त्यहि हुन्छ । आज हाम्रो नियती त्यही भएको छ । व्यक्तिलाई आधार वनाएर निति वनाउनु भन्दा तर्क र तथ्यमा आधारित भएर व्यक्तिको छनोट गर्न सक्नु पर्छ । एकाथारिले कुनै एक व्यक्तिको नाम सिफारिस गर्ने अनि अर्को थरिले हुदै हुन्न भनेर न्वारन देखिको बल झिकेर विरोध गर्ने र गराउने सस्कृतिले कसैको भलो गर्दैन । यस कार्यले नेतृत्व प्रति कार्यकर्ताको विश्वास र आस्था घटछ । भावनात्मक एकता र सम्बन्ध विना उद्देश्य पुरा हुन सक्दैन । इतिहास साछि छ उद्देष्य फरक बनाउदा साझा लक्ष्य प्राप्त नभएका ।

नेकपा(काभ्रे)कार्यकर्ताको धनी पार्टी हो।नेतृत्वले कार्यकर्तालाई योग्यता,क्षमता र कार्यकौसलताको आधारमा जिम्वेवारी दिनु पर्छ । कार्यकता औजार हुन । बाटोमा छोड्यो भने अरुले प्रयोग गरिदिन्छ अनि पाखामा छोड्यो भने खिया लाग्छ त्यसैले उचित जिम्वेवारी दिएर परिचालन गर्न जरुरी हुन्छ । कार्यकर्ताको समायोजन जिल्ला कमिटिमा मात्र खोजीनु हुन्न । प्रदेशका ४, संघमा २ क्षेत्र अनि १३ वटा स्थानिय तह लगाएत विभागहरुमा समेत कतै न कतै जिम्बेवारी दिन सकिन्छ । यति मात्र नभई दोहोरो जिम्बेवारी बाट खाली भएका पदमा समेत क्षमता वान कार्यकर्तालाई जिम्बेवारी दिन सकिन्छ । संगै बसौँ सोचो र निणर्य गरौ यो हाम्रो भविष्यको बलियो आधार हो ।

भनिन्छ “गल्ति बाट सिक्नु पर्छ” विगतका निवार्चनहरुमा हामीले गरेका साना गल्तीले ठुला ठुला भडखारा परेका छन । जितिने स्थानिय तह हारिएका छन । बर्षै देखि थिचो मिचोमा रहेका कार्यकर्ताको सिर झुकेको छ ।यो कुराले नेतृत्वलाई तत्काल नछुन पनि सकछ तर एक दिन यो कुरा तपाइको जीवन र बाटोमा आउछ त्यस पछि थाहा हुन्छ । अब गल्ती गर्ने छुट कसैलाई पनि छैन ।देउता भए मन्दिरमा बस्नु पर्छ, सबैले पुजा गर्छन, मन्दिरमा नवसेर घुमि हिडने देउतालाई खोजेर पुजा गर्दैनन् । यदि कसैले आफुलाई भगवान नै सम्झीएको र मेरै कृपा र आर्शिबादमा सबै गोलबद्व छन र हुनेछन र निरन्तर रहनेछन भन्ने सोचेको हो भने त्यो संभव छैन ।समयमा नै सबैखाले संकृण भावनालाई छोडेर साझा, उदार र न्यायपुर्ण नेतृत्व प्रदान गर्न जरुरी छ ।

अत नेकपा काभ्रेको नेतृत्तवमा काभ्रेली जनताको शुख, शान्ति र सम्वृदि खोज्ने हो भने पाका पुराना अनुभवीको सल्लाहा सुझावमा अनि योग्यता र क्षमता भएका कुसल युवाहरुको नेतृत्वमा पार्टीको शिर देखि तिर सम्मको संरचना निमार्ण गरी नेतृत्व हस्तान्तरण गर्न जरुरी हुन्छ यस कार्यका निम्ति नेता तथा कार्यकता फेरी एक पटक एकै ठाउमा एक साथ उभिन जरुरी भएको छ ।

धन्यवाद
२०७७/०५/०१