बैकुण्ठ धाममा श्री बिष्णु भगवान समक्ष नारद मुनिले पेश गरेको नेपाल खण्डको राजनैतिक प्रतिवेदन

  • २७ आश्विन २०७७, मंगलवार १४:५३

एकदिन बैकुण्ठधाममा श्री बिष्णु भगवानले बैकुण्ठबास गरेका पृथ्वीलोकका समस्त राजा–महाराजा,प्रधानमन्त्री– महामन्त्री, शासक– प्रशासक तथा नेता–उपनेताहरुको भेला डाकेछन ।खचाखच भरिएको हलबाट संसारका सबै साना ठुला देशका बैकुण्ठबासीहरुले हात उठाउदै आ–आफ्नो परिचय दिए तर नेपाल लगाएतका केही मुलुकबाट कसैले पनि हात नउठाएपछि बिष्णु भगवानलाई जिज्ञासा पैदा भएछ ।अचम्बित हुदै बिष्णु भगवानले नारदमुनीलाई बोलाई नेपाल भन्ने देशबाट यो बिशाल भेलामा किन कोही उपस्थित भएन?उपस्थित हुन नसक्नाका कारणहरुको खोजी गरी वास्तविक तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न निर्देशन दिएछन ।

आदेश प्राप्त हुनासाथ एउटा डायरी,डटपेन र आवश्यक खरखजना सहितको झोला बोकेर नारदमुनी पृथ्वीलोकको अति शुन्दर देश नेपालमा आई प्रतिवेदनको लागि आवश्यक प्रशनावलीहरु तयार गरी अध्ययनमा लागेछन ।नेपालका नेताहरुले चुनावको बेलामा के बोल्छन ?चुनाव पछि सत्तामा पुगेर के गर्छन ?जनता, नेता र कार्यकर्ताको सम्बन्ध कस्तो हुने गरेको छ ?प्र्तिपक्षको भुमिका कस्तो हुने गरेकोे छ ? निजामति कर्मचारिले देशको दैनिक राज्य सञ्चालनमा कस्तो भुमिका निर्वाह गर्ने गरेका छन ? र देशको समग्र बिकास हुन नसक्नाका मुल कारणहरु के हुन ?लगाएतका सयौं प्रशन बोकेर नारद जी एउटा चुनावी सभामा नेताको भाषण रेकर्ड गर्दै लेख्न थालेछन ।नेता भाषण गर्दै गए ।यो चुनावमा मैले जिते भने नेपाललाई सिङ्गापुर बनाए दिन्छु ।घर घरमा रोजगारी आउछ ।कसैले पनि कामको लागि बिदेश जानु पर्दैन ।घरघरमा धारा, गाउं गाउंमा स्कुल, कायपलट नै गरिदिन्छु ।नेताको भाषणको वीच वीचमा ताली बज्यो ।सबैजना दङ्गदास थिए ।नारदमुनी पनि बेलाबेलामा अलमलिन्थे यो नेपाल होकी बैकुण्ठधाम ।नेताले तालिको बलमा थप्दै गए यो सगरमाथाको देश, जलश्रोतको भण्डार अनि बुद्दको जन्मस्थल यहा के को कमी छ ? आहा कति राम्रो नेता,बोलेको कति राम्रो ।यो पनि गर्ने उ पनि गर्ने अब के चाहियो ।सबैजना असाध्यै खुसी भए ।सबैजना मिलेर भोटमागे ।छिटफुट घटना बाहेक चुनाव शान्तिपूर्ण नै समपन्न भयो ।

चुनाव सकेको भोलिपल्ट नै चुनावी परिणम सार्बजनिक भयो ।नेताले दुइ तिहाई भन्दा पनि बढि मत प्राप्त गरे ।भब्य बिजय जुलुसहरु भए ।जनताले नारा लगाए यो जित कस्को ? जनताको ।जनता कस्को नेताको ।नेता कस्को जनताको ।हाम्रो नेता कस्तो छ ? रातोगेडी जस्तो छ ।नेताको विषयमा माथि पनि चर्चा चल्न थाल्यो । ठुलै जिम्बेदारी पाउने सम्भाबनाले नेता, जनता र कार्यकर्ता पनि निकै खुसी देखिन्थे ।नेता देशका ठुलै मान्छे भए । चिल्लाकार,आलिसान महलको बास, चौरासी ब्यञ्जनको भोजन, शुरा शुन्दरीसंगको लुकामारी ,देश बिदेशको यात्रा जीवनमा कायपलट भयो ।दैनिकी फेरिएको छ यदाकदा आज भोलि उनी आफ्नो निर्वाचन क्षेत्रका मानिसहरु स्वर्गबास भएको घरमा श्याउ केरा बोकेर पुग्ने र घटनाले आफु अत्यन्तै दुखी भएको भनेर गहभरी आंसु पार्दै भक्कानिने गर्नमा सिमित भएकोे कुरा नारदमुनीले पनि चाल पाए ।चुनावको बेलामा भेटेका नेतालाई मतदाताहरु नजिकैबाट भेटन, कुराकानी गर्न र आफ्ना मागहरु पुरा भएको देख्न चाहान्थे ।मोबाईल हुनेले फोन गरे, निर्वाचन अघि सहजै उठने फोन उठेन, कल ब्याक पनि भएन नारद जीले पनि ट्राई गरे फोन बेस्त भयो ।फेरी गरेको फोन अर्कैले उठायो र भन्यो नेता ज्यु अहिले ब्यस्त हुनुहुन्छ उहा ठुला ब्यपारीसंग कुराकानी गर्दै हुनुहुन्छ ।यसपछि उद्योगपतिसंग अनि ठेकदारसंग त्यसपछि…..संग तपाई भोली फोन गनुर्स ।भोलीपल्ट बिहान गरेको फोन नेता जी लाफैले उठए र जंगिदै भने तपाईले फोन गर्ने बेला हो यो ?मलाई काम गर्न दिनुस ।नेता फोनमा बर्बराय ।फोनमा दोहोरो कुराकानी भएन फोन काटीयो ।नारद जी लेख्दै गए।

केही समयपछि नेता जी गाउमा आउने कार्यक्रम बनेको नारदजीले चाल पाए ।नेताले गाउका आफुले भनेको मान्छेलाई शहरमानै बोलाएर सम्पूर्ण कामको प्रबन्ध मिलाउन लगाए ।नेता आउने भएपछि बाटोका खाल्डाखुल्डी पुरीए ।सडक किनारमा थुपारिएको फोहर उठाईयो ।माइकिङ गरियो ।तुल ब्यानर र पोष्टरले गाउ सिङ्गारियो ।माला खादाले नेताजीको भब्य स्वागत गरियो ।नेताको जयजयकार गरियो ।नेताले मञ्चबाट कान फुटने गरी भाषण गरे ।यो खोलाको मुल मैले नै फुटाएको हो ।तपाइका गाउको ठुलो पहाड मैले नै ठडाएको हो ।त्यो हिमालको हिउं मेरा बाजेले नै थुपारका हुन ।बेसीको खेत मैले नै सम्याएको हो ।अब थोरै मात्र काम गर्न बाँकी छ ।अबको एक वर्ष भित्रमा आकासका ताराहरु गन्न सकिने सफ्टवयर बनाई दिन्छु ।अर्को एक वर्षमा अन्तरिक्षमा जाने भ¥याङ बनाउने योजना रहेको छ ।मेरो सचिवालयका साथीहरु दिनरात यसै काममा खटेका छन ।घरमा श्रीमती र ससुरालीमा कान्छी सालिलाई समेत समय दिन सकेका छैन ।मैले चुनाव जितेपछि पल्ला गाउको अर्को पार्टीको मान्छले पनि मलाई फोन गर्न थालेको छ ।उसको घरमा भएको रुद्री पुजामा प्रमुख अतिथि बनाएको छ ।माला खादाले स्वागत गरेको छ ।प्राय बेलुका आयोजना हुने ठुला ठुला जमघटमा बोलाउने गरेका छन ।खासै ठुला माग पनि छैनन् ।दुई चार अर्बका ठेक्काका कुरा गरेका छन ।तपाइहरुको चाही उही पुरा नै गनगन ।शहिदका छोरछोरीले खान लाउन पाएनन्, जागीर भएन, गाउमा बाटा,े पुलपुलेस बनेनन् ।सधैं एउटै एकै खालको सुगा रटाइ ।आफु ताक्छ मुढो बन्चरो ताक्छ घुंढो ।कार्यक्रम सकियो ।आसेपासेले नारा लगाए हाम्रो नेता जिन्दाबाद ।
कार्यक्रमको किनारामा बसेका मानिसहरु निरस भएर घर फर्किदै थिए नारदजीलाई जिज्ञासा पैदा भयो नेता र जनताका वीचमा किन सम्बन्ध राम्रो हुन सकेन ?प्रश्न जटिल थियो ।नारद खोजिमा लागे ।अलिक पर घर जादैगरेका नेताका मतदातालाई भेटे र आफ्ना जिज्ञासा राखे ।मतदाता मध्यको एक जनाले भन्दै गए ।नेता हाम्रो आर्दश हो ।नेतासंग हाम्रो देश, हामी र हाम्रा सन्ततिको भविष्य जोडिएको छ ।हामी उपर खेलबाड गर्ने कुनै सुबिधा उनीलाई छैन । हो हामीले सम्बृद्वि खोजेका छौ हाम्रो गाउको गोल्भेडाले बजार पाउनु प¥यो ।गाउमा बाटो चाहियो ।टारी खेतमा कुलो, भञ्ज्याङमा पिकनिकपार्क बनाउनु प¥यो ।हामी हाम्रो गाउँ आफैं बनाउछौ मात्र नेताको साथ भए पुग्छ ।हामीलाई हाम्रो नेताले भ्रष्टाचार नगरेको र भ्रष्टसंग लसपस नगरेको सुन्न पाए पुग्छ ।बैरीको बीचमा उभिदा हाम्रोे नेताको सिर शक्तिशाल जस्तै उभिएको देख्न पाए पुग्छ अनि न्याय,समानता ,शान्ति र स्थायित्वको निम्ती दृढतापूर्बक उभिन सक्ने,इमान्दार,कर्तब्यनिष्ठ भएको देख्न पाए पुग्छ ।उ जालझेल र षडयन्त्र भन्दा टाढा रहोस र उसलाई देखदा मेरो शरिरमा रक्तसञ्चार होस अनि मेरो छाती गर्भले ढक्क फुल्न सकोस हामीलाई यति भए पुग्छ । आउदा जादा हाँसीखुसि बोलीदिए,घरमा भएको मिठो मानेर खाईदिए,सबैसंग समान ब्यबहार गरिदिए मात्र पुग्छ ।हामीले खोजेको नेता हाम्रो आर्दश हो ।नारदजी लेख्दै गए ।
भोलिपल्ट बिहानै नारदमुनी नेताको सचिवालयका मानिसहरु भेटन पुगे । कोहि पनि उठेको रहेनछ ।सायद बेलुकाको रक्सीको ह्याङ्ख हुन सकछ ।एकजना ब्यापारी आयो र ढोक नजिकैको घण्टी थिच्यो ।भित्रबाट मधुरो आवज आयो, भित्रै आउनोस ।नारद पनि लुसुक्क छिरेर एउटा कुनामा बसे ।ब्यापारीले ठेक्का मिलाई दिन भने कमिसनमा मोलमोलाई भयो कुरा मिल्यो । दिन भरिमा धेरै हुल मान्छे आए लेनदेन हुनेका वीचमा लामै कुराकानी भए ।पल्लो कोठामा सचिवालयका टिम नै जम्मा थिए ।सचिवालयका एक जनाले भन्यो भोलि के हुन्छ थाहा छैन मौका यहि हो मन्त्री कतिखेर खुस्कने हो थाहा छैन ।समयमा नै सेटिङ मिलाएर कमाउनु पर्छ ।सबै कुरा मन्त्रीलाई भन्नु हुदैन। धन्दा आ–आफ्नै थिए नारद जी लेख्दै आश्रम फर्किए ।

आश्रममा नारद जी ले नेपालको कर्मचारी संगठनको संरचना अध्ययन गरे ।समय समयमा उच्च पदस्थ कर्मचारीसंग फोन सम्पर्क गरे ।सरकार र कर्मचारी प्रशासनको वीचमा किन तालमेल नभएको नारदले जिज्ञासा राखे ।नारदको प्रश्न भइमा झर्न नपाउदै उनी बरबराए कर्मचरी स्थायी सरकार हो, हामी लोकसेवा पास गरेर आएका हौं, नेता र हाम्रो स्तर मिल्दैन ।सुबिधा कम छ, अवसर छैन, प्रोत्साहन छैन काम मात्र गरेनन भनेर गनगन गर्दैमा हुदैन । यदि सरकारले हामीले भनेको मान्दैन भने हामी देखाई दिने छौ ।पत्रकारहरुसंग समेत सेटिङ मिलेको छ ।त्यसैले सरकारले हामीलाई सोधेर मात्र योजना बनाउनु पर्छ ।नारदलाई लेख्नै हम्मे हम्मे परेको थियो ।
एक साता पछि पिपल चैतारी भञ्ज्यङमा प्रमुख प्रतिपक्ष दलको ठुलै नेताले सम्बोधन गर्ने कार्यक्रम बनेको नारदमुनीले थाहा पाए ।सबैका कुरा पनि सुन्न पाईन्छ भनेर नारद जी बिहानै कार्यक्रम स्थलतिर अगाडी बढे ।ध्वजा तोरनले मञ्च सजिसजाउ थियो, मतदाताहरु बिहानै देखि झण्डा बोकेर उपस्थित भएका थिए ।नारदले नजिकैको एकजनालाई सोधे तपाई यहा किन आएको ?उनले भने हाम्रो पल्ला घरको ठुलोदाईले जा भनेर आएको हो ।धेरैलाई सोधे खास के हुदै छ कसैलाई थाहा रहेनछ ।दिउसोपख केहि दर्जन मान्छेको नाराबाजीका विचमा नेता आईपुगे र मञ्चमा बसे ।नारदजी पनि बदाम खादै कार्यक्रममा सहभागि भएका थिए ।धेरै बक्ताले प्रमुख अतिथिका बिगत र बर्तमानको प्रशंसा गरे,कामको बेलिबिस्तार सुनाए ।सत्तापक्षको भन्दा दर्जनौ उत्कृष्ट काम गरेको प्रचार गरे तालीको गढगढाहटका वीचमा नै प्रमुख अतिथिको बोल्ने पालो आयो ।प्रमुख अतिथिले बोल्दै गए, यो खोलाको मुल मैलेनै फुटाएको हो ।तपाइका गाउको ठुलो पहाड मैले नै ठडाएको हो ।त्यो हिमालको हिउं मेरा बाजेले नै थुपारका हुन ।बेसीको खेत मैले नै सम्याएको हो ।अब थोरै मात्र काम गर्न बाँकी छ ।अब आउने चुनावमा मलाई जिताउनु भयो भने अकासका ताराहरु गन्न सकिने सफ्टवयर बनाई दिन्छु । अन्तरिक्षमा जाने भ¥याङ बनाई उहिको जग्गा पल्टिङ गरेर सबैलाई एक एक वटा घर बनाई दिन्छु धन्दा मान्नु पर्दैन ढुक्क हुनुहोस । कार्यक्रम सकियो चिया बिस्कुट खाएर सहभागिहरु आ–आफ्नो घरतिर लागे ।बाँकी रहेका कार्यकर्ता र तेताको वीचमा बन्द कोठामा कार्यक्रमको समिक्ष भयो ।

खाजाको व्यवस्था सहित कार्यक्रमको समिक्षा सुरु भयो ।कुरा नेताले नै सुरुगरे जसरी पनि आउने चुनाव जित्नु पर्छ ।सबै हामीले गरेको भन्ने, प्रचार गर्ने, जालझेल षडयन्त्र जे गर्नु पर्छ गर्ने । बिपक्ष नेताको आलोचना गर्ने, हुर्मत लिने र अर्को चुनावमा गाउमा आउनै नसक्ने बानाउनु पर्छ ,सो काम गर्न कसलाइ कति खर्च चाहिन्छ मलाई भन्नु, यसको जिम्मा कर्णकान्त र रक्त बिजानन्दले लिनु पर्छ कुरा यहि हो ।समिक्ष सकियो आ–आफ्नो गडीमा चढेर सबै सहर तिर लागे ।साझ परि सकेको थियो नारद जी बिस्तारै आश्राम तिर लागे ।

जिम्वेवरी पाएको लामो समय भै सकेको थियो । प्रतिवेदनको चटारोमा नारद जी पनि अन्र्तध्यान भए लामो समयको स्थलगत अध्ययन अनुसन्धान पछि प्राप्त गरेका सुचनाहरु लिएर नारद जी बैकुण्ठ धामतिर लागे ।संकलित तथ्यहरुको विश्लेषण तथा बर्गिकरण गरी प्रतिवेदन तयार गरी बैकुठधाममा प्रश्तुत गरेका थिए ।उक्त प्रतिवेदनमा नेपालका नेता,उपनेत तथा शासक प्रशासकहरु मरे पछि किन बैकुण्ठधाम जान सक्दैनन सो कुरा पत्ता लगाउनु पर्ने थियो ।जुन नारद जी ले यसरी प्रस्तुत गर्नु भएको थियो ।
बैकुण्ठ धाममा श्री बिष्णु भगवान समक्ष नारद मुनिले पेश गरेको नेपाल खण्डको
राजनैतिक प्रतिवेदन २०…….
प्रतिवेनको शिर्षकः नेपालका नेता तथा प्रशासकहरु मृत्यु पश्चात किन बैकुण्ठधाम जान सक्दैनन
अध्यनको क्षेत्रः नेपालको राजनैतिक दल तथा प्रशासनीक क्षेत्र
अध्ययनको उद्देश्यः नेपालका नेता तथा प्रशासकहरु बैकुण्ठधाम जान नसक्नुको कारण खोजी उपयुक्त
सुझाव दिनु ।
अध्ययन विधिः प्रशनोत्तर, भेटभाट,छलफल,दस्तावेजहरुको अध्ययन टेलिफोनवार्ता, भिडियो कल आदि
पत्ता लागेका कुराहरुः
(क) नेपालका नेताहरु सत्यमा भन्दा झुटमा बढि विश्वास गर्ने ।
(ख) नेपालको प्रशसनीक क्षेत्र अनियन्त्रीत र भ्रष्ट रहेको ।
(ग) एकाध नेता तथा कार्यकर्ता कमाउ धन्दामा ब्यस्त रहेको ।
पुष्ट्याई आधारहरु
(क) पार्टी सञ्चालनका नियम तथा चुनावी घोषण पत्रहरु,
(ख) चुनावी सभाहरु,
(ग) जनहितका लागि सञ्चालन हुने आयोजनाहरु,
(घ) नेपालको कर्मचारी संयन्त्र
(ङ) राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको बिलासी तथा गिलाँसी जीवनशैली
(च) फोटो तथा भिडियो
निष्कर्षः नेपालको राजनैतिक तथा प्रशासनिक क्षेत्रमा सिर देखि तिर सम्म सुधार गर्नु पर्ने

सुझावः नेपालको समग्र राजनैतिक तथा प्रशासनिक क्षेत्रको सुधार गरी जनताको समग्र जीवनस्तर माथि उठाउन निम्न सुझावहरु प्रस्तुत गरेको छु ।
(क) राजनैतिक दलको स्थापना र सञ्चालन राष्ट्र, राष्ट्रियता र जनताको सुख,शान्ति र सम्बृद्धिका लागि हुनु पर्ने ।
(ख)चुनावी घोषणपत्र अक्षरस कार्यान्वयन हुनु पर्ने ।
(ग) जनप्रतिनिधि मार्फत राज्य सञ्चालन गर्नु पर्ने ।
(घ) नेपालको कर्मचारी संयन्त्र निर्वचित सत्ताको सम्पूर्ण रुपमा नियन्त्रीत हुनु पर्ने ।
(ङ)उच्च नेता तथा कार्यकतहरुले सादा जीवन र उच्च बिचारको अनुसरण गर्नु गर्नेे
(च) विधिको शासन काएम गर्नु गर्ने ।

आवश्यक सुझावको निम्ति हार्दिक अनुरोध गर्दै नेपाल खण्डको यो राजनैतिक तथा प्रशासनिक प्र्रतिवेदन प्रस्तुतीकरणबाट बिदा हुने अनुमति चाहान्छु । धन्यवाद ।
…………………….
प्रस्तुत कर्ता
नारदमुनी