• ४ बैशाख २०७७, बिहीबार ०२:४०

म आज कैदी भएको छु,
हदम्याद विहिन कोरना कैद भोगि रहेछु ।
आफ्नै घर, आगन र बन्द कोठामा,
उज्यालो जिजिविषाको लालसामा
विवस कोरना कैद भोगि रहेछु ।

मेरो दैनिकी फेरिएको छ,
उठने सुत्ने धन्दा बढेको छ ।
होटल पसलमा गफ चुटन छाडेको छु,
टि.भि मोवाईलसंगै खाने बस्ने गरेको छु।
फेसबुक, अनलाईन टुइटर र युट्युवमा रमाएको छु
लाईक, कमेन्ट, शेयर र कपिको दोकान नै चलाएको छ ।

अचेल म होलसेलर भएको छु,
लेनदेन कारोवार ठप्पै छ।
अर्ति, उपदेश र सल्लाहा उधारोमा बेच्न थालेको छु ।
उपभोक्ता भन्दा उत्पादन बढि,
छताछुल्ल पोखिएको छ ।
दोकान दर्ता छैन,२४ सै घण्टा खुला छ,
आयत भन्दा निर्यात बढेको छ
त्यसैले त मेरो होलसेल चलेको छ ।

म कहिले कहि सपनिमा बरबराउने गरेको छु,
टेलिभिजन, रेडियो र टेलिफोनमा चिच्याउने गरेको छु ।
हुटिट्याँउले आकास थेगे झैं,
कोकोहोलो मच्चाउने गरेको छु ।
सिन्को भाँच्नु परेको छैन,
हनुमानले पहाड बोके झैं गरेको छु ।
तर आज बहादुर भएर पनि काएर भएको छु
त्यसैले त, बन्द कोठामा कैद भोगि रहेछु

म हिजो सम्म सबैथोक जान्ने थिए,
संसार मैले चलाएको थिए ।
उचाल पछारको खेल, खेलाएको थिए,
खुट्टा तान्ने संस्कार सिकाए कै थिए ।
तर आज,
म कौडिको मुल्यमा नबिक्ने कवाड भएको छु,
खेल मैदान बिनाको खेलाडी भएको छु ।
त्यसैले त आज म कैद भोगि रहेछु
खेल मैदान विनाको खेलाडी भएको छु
कोरना कहरको कैदि भएको छु ।