षडयन्त्रको खेती

  • २७ आश्विन २०७७, मंगलवार १५:३३

कविता
यहा अमृतकाे बाेटमा, विष फलेको छ
धान बारीमा सामा झुलेको छ
सुन्तोलामा ज्यामिरको रस मिलेको छ
त्यसैले त यहा सहयोगमा षडयन्त्र मौलाएको छ ।

दिनको बिरुद्ध रातले षडयन्त्र गरेको छ
घामलाई बादलले ढाकेको छ,
ओरालोको बिरुद्ध उकालो उभिएको छ,
मैदानलाई बगरको गिटिले पुरेको छ ।
त्यसैले त यहा षडयन्त्रको खेती मौलाएको छ ।

यहा आगोले पानि उमालेको छ
पानीले आगो निभाएको छ,
बाल्ने निभाउनेका वीचमा
निरन्तर निषेध चलेको छ ।
त्यसैले त यहा षडयन्त्रको खेती चलेकोे छ ।

यहा धनीले गरीवलाई शोषण गरेको छ
गरिवले धनिको निद हराम गरेको छ,
साधुलाई फकिरले लुटेको छ
फकिरलाई पुलिसले कुटेको छ
त्यसैले त यहा षडयन्त्रै षडयन्त्रको खेती चलेकोे छ ।

यहा नेता नेताका वीचमा षडयन्त्र छ
नेताले कार्यकर्ता ढाटेको छ
कार्यकर्ताले मतदाता ढाटेको छ
यहा ढाट छल गर्नेहरुका वीचमा एकता भएको छ
त्यसैले त यहा षडयन्त्रले धर्ति आकास जोडेको छ
धन्यवाद
२०७७/०२/१७